प्रचण्ड फकाउन प्रधानमन्त्री निकट नेताहरु दिनहुँ खुमलटारमा
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ताका लागि बालुवाटारमा बोलाएको भएपनि प्रचण्ड गएका छैनन् ।
कर्णाली प्रदेश प्रकरण, मन्त्रिपरिषद पुनर्गठन, रअ प्रमुखसँगको भेट र पर्सा घटनालगायतका विषयमा असन्तुष्ट बनेका प्रचण्डले कोरोनाको बहाना बनाएर प्रधानमन्त्रीको निम्तोलाई अस्वीकार गरेका छन् ।
प्रधानमन्त्रीको निम्तो अस्वीकार गरेका प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली निकटका परराष्ट्र«मन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली शुक्रबार खुमालटार पुगेका छन् ।
प्रचण्डसँगको भेटमा परराष्ट्र मन्त्री ज्ञवालीले दुई अध्यक्ष मिलेर जानु पर्ने सुझाव दिएको नेकपा स्रोतले जनाएको छ ।
कात्तिक ३ गतेदेखि प्रधानमन्त्री ओली र प्रचण्डबीच भेट हुन सकेको छैन।
मंगलबारदेखि नै प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएको भए पनि प्रचण्ड नै जान नचाहेको बुझिएको छ ।
यसअघि बिहिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डलाई भेटेका थिए।
त्यस्तै बुधबार अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग छुट्टाछुट्टै भेट गरेका थिए ।
प्रचण्डले प्रधानमन्त्रीलाई २/४ दिनपछि मात्रै भेट्ने भन्दै सन्देश पठाएको नेकपा स्रोतले जनाएको छ । प्रचण्डले प्रधानमन्त्रीसंगको असन्तुष्टिका कारण भेट्न नचाहेका हुन् वा अन्य कारण छन् भन्ने विषयमा नेकपाभित्र चासो र बहस सुरु भएको छ ।
प्रचण्डले भने आफू कन्ट्याक्ट ट्रेसिङमा परेकाले बालुवाटार नजाने बताएका छन् ।
