उद्धार कोषमा रकम पठाउँदा सावधान रहन राष्ट्र बैंकको ७ बुँदे निर्देशन
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली क्यूआर कोड तथा नक्कली बैंक खाता विवरण प्रयोग गरी अनधिकृत रूपमा रकम संकलन तथा ठगी भइरहेको भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
रकम जम्मा गर्नुअघि सामाजिक सञ्जाल, ईमेल र मेसेजिङ एपमार्फत फैलिएका अनधिकृत विवरण प्रयोग नगरी नेपाल राष्ट्र बैंक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अर्थ मन्त्रालयको वेबसाइटमा उल्लेखित आधिकारिक बैंक खाता विवरण र क्यूआर कोड मात्र यकिन गरेर प्रयोग गर्न राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आग्रह गरेको छ।
यसका साथै, कोषमा योगदान गर्दा सर्वसाधारणलाई विभिन्न सुरक्षात्मक उपायहरू अपनाउन निर्देशन दिइएको छ।
रकम पठाउने क्रममा मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आईपीएस जुनसुकै माध्यम प्रयोग गर्दा पनि खाताको नाम अनिवार्य रूपमा सही रहेको र आफूले पठाउन चाहेको रकम सही रहेको पुनः यकिन गर्न पनि आग्रह गरिएको छ। सहयोग रकम पठाउन मद्दत गर्ने बहानामा कसैले मागेमा ओटिपी, पिन वा पासवर्ड जस्ता संवेदनशील व्यक्तिगत विवरण कसैलाई नदिन तथा केवल आधिकारिक एप्लिकेसनहरू मात्र प्रयोग गर्न आग्रह गरिएको छ।
यदि कसैलाई आफू ठगीमा परेको आशंका लागेमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, नेपाल प्रहरीको साइबर ब्युरो वा नेपाल राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाईमा जानकारी भनिएको छ ।
