विश्व प्रेस स्वतन्त्रता दिवसः सत्य बोल्नेको रक्षा गर्न महासचिव गुटेरेसको आग्रह
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पत्रकारहरूको अधिकार रक्षा गर्न र सत्यको सुरक्षा सुनिश्चित गर्न विश्व समुदायलाई आह्वान गरेका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा एक विशेष सन्देश जारी गर्दै उनले युद्ध र द्वन्द्वका बेला सत्य मात्र नभई, सत्य उजागर गर्ने पत्रकारहरू नै पहिलो निशानामा पर्ने गरेको प्रति गम्भीर चिन्ता समेत व्यक्त गरेका छन् । मानिसहरू भन्छन् युद्धमा सत्य सबैभन्दा पहिले मारिन्छ, तर धेरैजसो अवस्थामा त्यो सत्य बाहिर ल्याउन खोज्ने पत्रकारहरू नै पहिलो शिकार हुने गर्छन्, उनले भने ।
महासचिवले पछिल्लो समय युद्धग्रस्त क्षेत्रहरूमा पत्रकारहरूलाई योजनाबद्ध रूपमा निशाना बनाउने क्रम बढेको उल्लेख गरे । तथ्याङ्क प्रस्तुत गर्दै उनले भने, ‘पत्रकार विरुद्ध हुने ८५ प्रतिशत अपराधमा अनुसन्धान र सजाय हुँदैन। दण्डहीनताको यो स्तर पूर्ण रूपमा अस्वीकार्य छ।’
सञ्चारकर्मीहरूले हाल विश्वभरि नै अंकुश (सेन्सरशिप), कडा निगरानी, कानुनी हैरानी र ज्यानकै जोखिम समेत मोलेर काम गर्नुपरेको महासचिवको सन्देशमा उल्लेख छ।
आर्थिक दबाब, नयाँ प्रविधि र सूचनाको गलत चलखेलले प्रेस स्वतन्त्रतालाई अभूतपूर्व संकटमा पारेको महासचिवको ठहर छ। उनका अनुसार जब पत्रकारिता कमजोर हुन्छ, तब विश्वसनीय सूचनाको अभावमा समाजमा अविश्वास बढ्छ, सार्वजनिक बहसहरू बंग्याइँदा सामाजिक एकता कमजोर हुने समेत उनले बताए । यसका कारणले विभिन्न संकटहरूको रोकथाम र समाधान गर्न झन् कठिन हुने महासचिव गुटेरेसको भनाइ छ ।
प्रेस स्वतन्त्रतालाई सबै प्रकारका स्वतन्त्रताको मेरुदण्ड मान्दै गुटेरेसले भनेका छन्, -‘प्रेस स्वतन्त्रता बिना न मानव अधिकार सम्भव छ, न दिगो विकास र शान्ति नै।’
उनले पत्रकारहरूको अधिकारको रक्षा गर्दै सत्य र सत्य बोल्नेहरू सुरक्षित हुने संसार निर्माणका लागि एकजुट हुन सबैलाई अपिल समेत गरेका छन् ।
