मध्यपूर्वमा तत्काल युद्धविरामका लागि राष्ट्रसंघका महासचिवद्वारा आह्वान
संयुक्त राष्ट्रसंघ, न्युयोर्क ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी युद्ध नियन्त्रण बाहिर गएको भन्दै तत्काल युद्धविरामका लागि विश्व समुदायलाई आह्वान गरेका छन् ।
न्युयोर्कस्थित मुख्यालयमा आयोजित प्रेस भेटघाटमा बोल्दै उनले युद्ध सुरु भएको केही समयमै आफूले ‘चेन रियाक्सन’ को चेतावनी दिएको स्मरण गराउँदै अहिले स्थिति कल्पनाभन्दा बाहिर पुगेको बताए। महासचिव गुटेरेसले अब तनाव बढाउने नभई कूटनीतिको बाटो रोजेर अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना गर्ने समय आएकोमा जोड दिएका छन् ।
मध्यपूर्वको यो द्वन्द्वले विश्वव्यापी आर्थिक संकट र मानवीय पीडालाई अकल्पनीय उचाइमा पुर्याएको महासचिवको ठम्याइ छ। विशेष गरी इजरायल र संयुक्त राज्य अमेरिकालाई युद्ध अन्त्य गर्न आग्रह गर्दै उनले बढ्दो नागरिक हताहती र विश्वव्यापी आर्थिक प्रभाव विनाशकारी भएको बताए। साथै, इरानलाई द्वन्द्वमा संलग्न नभएका छिमेकी मुलुकहरूमाथि आक्रमण रोक्न र ‘स्ट्रेट अफ हर्मोज’ जस्ता महत्त्वपूर्ण जलमार्गहरूमा अवरोध नगर्न उनले सचेत गराएका छन् । जलमार्गको अवरोधले विश्वभर मल र ऊर्जाको आपूर्तिमा गम्भीर असर परेको उनको भनाइ थियो।
क्षेत्रीय तनावको चर्चा गर्दै गुटेरेसले लेबनानको अवस्थाप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले हिजबुल्लाहलाई इजरायलमाथि आक्रमण रोक्न र इजरायललाई लेबनानमा गरिरहेको सैन्य कारबाही बन्द गर्न आग्रह गरे । ‘गाजाको जस्तो विनाशकारी मोडल लेबनानमा दोहोरिनु हुँदैन, भन्दै उनले नागरिकहरूको सुरक्षा नै प्राथमिकता हुनुपर्ने बताए । युद्धका कारण सिर्जित ऊर्जा र मलको अभावले गर्दा आगामी दिनमा विश्वभर भोकमरी र गरिबी बढ्न सक्ने भन्दै महासचिव गुटेरेसले विकासोन्मुख राष्ट्रहरू सबैभन्दा बढी जोखिममा रहेको बताए ।
शान्ति प्रयासलाई तीव्रता दिन महासचिव गुटेरेसले जीन अर्नाल्टलाई आफ्नो व्यक्तिगत दूतका रूपमा नियुक्त गरेको जानकारी समेत दिएका छन् ।
अर्नाल्टले मैदानमै खटिएर मध्यस्थता र कूटनीतिक संवादका लागि काम गर्नेछन्। कूटनीति र इमानदार संवाद नै वर्तमान विपत्तिबाट बाहिर निस्कने एक मात्र उपाय भएको बताउँदै महासचिवले युद्धले कसैको पनि हित नगर्ने र शान्ति नै अन्तिम विकल्प भएको सन्देश दिए ।
