जाँचबुझ आयोगको प्रतिवेदनप्रति नेपाल बारको असहमति

तु खबर संवाददाता
२०८२ चैत्र १२, बिहीबार १३:३०

काठमाडौँ । नेपाल बार एसोसिएसनले भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनप्रति असहमति जनाएको छ। प्रतिवेदनले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई न्यायालयसम्बन्धी विषय आपत्तिजनक ढंगले उल्लेख गरेको भन्दै बारले आपत्ति जनाएको हो।

यस विषयमा छलफल गर्न बारले आज दिउँसो १ः३० बजे सल्लाहकार समितिको बैठक बोलाएको जनाएको छ। बारका महासचिव केदारप्रसाद कोईरालाले प्रतिवेदनले न्यायालय र कानुन व्यवसायप्रति समाजमा नकारात्मक प्रभाव पार्ने देखिएकाले असहमति जनाइएको बताए। उनले यस विषयमा कानुन व्यवसायीबीच गम्भीर छलफल हुने पनि उल्लेख गरे।

आयोगको प्रतिवेदनमा भने सर्वसाधारणको न्यायमा पहुँच कमजोर रहेको औँल्याइएको छ। पहुँच र आर्थिक अवस्था कमजोर भएकाहरूका लागि न्याय पाउन कठिन रहेको उल्लेख गर्दै वकिलहरूको शुल्क महँगो हुँदा सामान्य निवेदन तयार पार्न समेत हजारौँ रुपैयाँ असुल हुने गरेको टिप्पणी गरिएको छ।

प्रतिवेदनले न्याय प्रणालीमा देखिएका विकृति र विसङ्गतिहरू हटाई न्यायलाई सर्वसुलभ बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।