कालोपुलमा सुनचाँदी चोरी गर्ने दुई जना पक्राउ

तु खबर संवाददाता
२०८२ चैत्र ९, सोमबार १३:१०

काठमाडौं । काठमाडौं महानगरपालिका–५, कालोपुलमा डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाट सुनचाँदी लगायतका धनमाल चोरी गरेको आरोपमा प्रहरीले शनिबार राति दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–२ घर भएका २३ वर्षीय उपेन्द्र खत्री र कैलालीको गौरीगंगा नगरपालिका–२ घर भएका २६ वर्षीय निरज सापकोटा रहेका छन्।

गत चैत ६ गते पीडितको कोठाबाट अन्दाजी २६ तोला ८ आना बराबरका सुनका गरगहना तथा करिब ३३ हजार रुपैयाँ मूल्य बराबरका चाँदीका गरगहना चोरी भएको थियो। उक्त घटनाको अनुसन्धानका क्रममा खटिएको प्रहरीले उनीहरूलाई चोरीका विभिन्न सामानसहित पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट सुनजस्ता देखिने विभिन्न गरगहना, चाँदीजस्ता देखिने गरगहना, एक थान खुकुरी, दुई थान फलामका रड, एक थान तरबार, नगद २ लाख ४९ हजार रुपैयाँ तथा चोरीमा प्रयोग गरिएको एक थान स्कूटर समेत बरामद गरेको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।