विश्व पानी दिवस: दिगो विकास लक्ष्य ६ को सुस्त प्रगतिप्रति राष्ट्र संघमा चिन्ता
न्युयोर्कमा आयोजित एक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक तथा सामाजिक परिषद् इकोसकका अध्यक्ष लोक बहादुर थापाले जल सुरक्षा र लैंगिक समानताबीचको गहिरो सम्बन्धमा जोड दिएका छन् ।
विश्व पानी दिवस २०२६ को अवसरमा बोल्दै उनले दिगो विकास लक्ष्य ६ को प्रगति सुस्त रहेकोमा चिन्ता व्यक्त गरे । अरबौँ मानिस अझै पनि सुरक्षित खानेपानी र सरसफाइबाट वञ्चित रहेको उनको भनाइ छ ।
अध्यक्ष थापाले नेपालको उदाहरण दिँदै जलवायु परिवर्तनका कारण हिमाल र पहाडी समुदायमा पानीको हाहाकार बढ्दै गएको र यसको प्रत्यक्ष मार महिला तथा बालिकाहरूले भोग्नुपरेको उल्लेख बताएक छन् ।
उनले पानीको अभाव भएका क्षेत्रमा महिलाहरूले लामो दूरी तय गर्नुपर्ने, शिक्षा छोड्नुपर्ने र हिंसाको सामना समेत गर्नुपर्ने यथार्थ प्रस्तुत गर्दै जल सुशासनमा महिलाहरूको प्रतिनिधित्व बढाउनुपर्नेमा उनको जोड थियो ।
जल सुरक्षा केवल विकासको एजेन्डा मात्र नभई यो न्याय र मर्यादाको विषय भएको थापाको भनाइ छ । उनले अबु धाबीमा हुने आगामी संयुक्त राष्ट्र संघीय पानी सम्मेलन र विश्व पानी विकास प्रतिवेदन २०२६ ले देखाएका मार्गनिर्देशनलाई कार्यान्वयन गर्दै प्रविधि, वित्त र स्थानीय क्षमता सुदृढ गर्नुपर्ने आवश्यकता औल्याए ।
