जातीय विभेदको प्राचीन विष अन्त्य गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान
न्युयोर्क, संयुक्त राष्ट्रसंघ
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभर व्याप्त जातिवादलाई ‘प्राचीन विष’ को संज्ञा दिँदै यसको पूर्ण उन्मूलनका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गरेका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसुका अवसरमा एक विशेष सन्देश जारी गर्दै महासचिव गुटेरेसले जातिवाद अझै पनि हरेक समुदाय, समाज र राष्ट्रमा जीवित र सक्रिय रहेको भन्दै चिन्ता व्यक्त गरे ।
आफ्नो सन्देशमा महासचिवले आजको विश्वले भोगिरहेका आर्थिक, सामाजिक र राजनीतिक असमानताहरू विगतका उपनिवेशवाद, दासत्व र दमनका अवशेषहरू भएको उल्लेख गरे । उनले नयाँ डिजिटल प्रविधि र उपकरणहरू मार्फत फैलिने ‘घृणास्पद अभिव्यक्ति’ र हानिकारक भ्रमहरूले वास्तविक संसारमा हिंसा र दुर्व्यवहार निम्त्याइरहेको प्रति सचेत समेत गराए ।
महासचिव गुटेरेसले भने, ‘यसको एक मात्र ओखती एकता र कार्य हो।’ उनले ‘सबै प्रकारका जातीय विभेद उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि’ को पूर्ण कार्यान्वयन र २५औँ वर्षमा प्रवेश गरेको ‘डर्बन घोषणापत्र र कार्य योजना’ का ठोस कदमहरू पालना गर्न सरकार, व्यवसाय र संस्थाहरूलाई आग्रह गरेका छन्। प्रत्येक व्यक्तिको मर्यादा, न्याय र मानव अधिकारको रक्षाका लागि पृथ्वीको जुनसुकै कुनामा रहेका मानिसहरूको अपनत्वको पक्षमा लड्नुपर्ने र संसारबाट जातिवादको दाग मेटाउनुपर्नेमा उनको जोड थियो ।
