लैंगिक समानता शक्तिको प्रश्न हो: महासचिव गुटेर्रेस
संयुक्त राष्ट्रसंघ, न्युयोर्क । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वभर व्याप्त पितृसत्तात्मक सोच र महिला अधिकार विरुद्ध भइरहेका संगठित प्रयासहरू प्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
न्युयोर्कमा आयोजित नागरिक समाजसँगको ‘टाउन हल’ बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान समयमा महिला अधिकारमाथि प्रहार गर्न भ्रामक सूचना र सांस्कृतिक युद्धलाई हतियार बनाइएको बताएका छन्। महासचिव गुटेर्रेसले शक्ति कहिल्यै पनि स्वेच्छाले हस्तान्तरण नहुने उल्लेख गर्दै महिलाहरूले आफ्नो अधिकारका लागि ‘विशेषाधिकारको जग’ हल्लाउनु पर्नेमा जोड दिएका छन्।
उनले सिलिकन भ्यालीदेखि राजनीतिको उच्च तहसम्म अझै पनि पुरुष प्रधान संस्कृति हावी रहेको भन्दै लैंगिक समानतालाई पूर्णतः शक्तिको बाँडफाँडसँग जोडेर व्याख्या गरेका छन्। आफ्नो सम्बोधनका क्रममा गुटेर्रेसले संयुक्त राष्ट्र संघको आन्तरिक संरचनामा आएको सकारात्मक परिवर्तनको उदाहरण समेत प्रस्तुत गरेका छन्। विगत १० वर्षमा उच्च स्तरीय पदमा महिलाहरूको सहभागिता ३० प्रतिशतबाट बढेर अहिले पूर्ण समानताको स्थितिमा पुगेको जानकारी दिँदै उनले यो उपलब्धि कुनै नियम मिचेर नभई महिलाहरूलाई समान अवसर प्रदान गरेर मात्र सम्भव भएको स्पष्ट पारेका छन्।
महासचिव गुटेर्रेसले सार्वजनिक क्षेत्रमा पुरुषको तुलनामा योग्य महिला उम्मेदवारहरूको संख्या बढी पाइएको आफ्नो अनुभव समेत सुनाएका छन्। अधिकार प्राप्ति जति कठिन छ, त्यसको कटौती उत्तिकै छिटो हुन सक्ने चेतावनी दिँदै उनले नागरिक समाजका प्रतिनिधिहरूलाई नथाक्न र अधिकारको लडाइँ जारी राख्न आग्रह गरेका छन्। ‘हामी पछाडि फर्कन र आत्मसमर्पण गर्न कहिल्यै तयार छैनौं, भन्दै गुटेर्रेसले महिला र बालिकाहरूको सुरक्षा र समान भविष्यका लागि सबैलाई एकजुट हुन अपिल गरेका छन्।
