घोषित मितिमै चुनाव हुनुपर्ने एमालेको अडान, कर्फ्यूप्रति आपत्ति

तु खबर संवाददाता
२०८२ फाल्गुन १२, मंगलवार १४:४६

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको ९ दिनअघि सरकारले देशका विभिन्न भागमा निषेधाज्ञा र कर्फ्यु लगाएर मतदातामा डर र त्रास सिर्जना गरेको आरोप लगाएको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक मीनबहादुर शाहीले सर्वसाधारणको शान्ति-सुरक्षाको नाममा निषेधाज्ञा र कर्फ्यु जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको बताए। उनका अनुसार यस्ता कदमले मतदाताको मनमा भय सिर्जना गर्दै स्वतन्त्र रूपमा मतदान गर्ने अधिकार कुण्ठित गरिरहेको छ।

शाहीले मधेस-तराईका विभिन्न जिल्लामा लगाइएको कर्फ्युले आम मतदातालाई मतदान केन्द्रसम्म पुग्न अवरोध पुर्‍याएको भन्दै चिन्ता व्यक्त गरे। सरकारको यस्तो रवैयाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउनुका साथै लोकतान्त्रिक मूल्य-मान्यतामाथि नै प्रश्न उठाएको एमालेको ठहर छ।

समाजमा विभिन्न बहानामा निर्वाचन सार्न खोजिएको भ्रामक हल्ला चलेकोप्रति ध्यानाकर्षण गराउँदै एमालेले घोषित समयमै निर्वाचन हुनुपर्ने अडान दोहोर्‍याएको छ। पार्टीले आफूलाई स्थायित्व, समृद्धि र सुशासनको विश्वसनीय आधारका रूपमा स्थापित गरिसकेको दाबी गर्दै ‘भोट फर चेन्ज’ होइन, ‘भोट फर नेशन’ को नारा अघि सारेको जनाएको छ।

त्यसैगरी, प्रतिनिधिसभा विघटनको प्रक्रिया संवैधानिक परीक्षणबाट प्रमाणीकरण हुनुपर्ने अडान राख्दै एमालेले सर्वोच्च अदालत को आलटालप्रति असन्तुष्टि व्यक्त गरेको छ। अर्कोतर्फ, महान्यायाधिवक्ताको कार्यालय ले ‘जेनजी’ उपद्रवमा प्रत्यक्ष संलग्न व्यक्तिहरूलाई आममाफी दिने निर्णयले दण्डहीनता मौलाउने वातावरण बनेको आरोप पनि पार्टीले लगाएको छ।

निर्वाचनजस्तो संवेदनशील समयमा केही सञ्चारमाध्यमबाट एकपक्षीय मत सर्वेक्षण सार्वजनिक गरी जनमत प्रभावित पार्न खोजिएको भन्दै एमालेले आपत्ति जनाएको छ। यस्ता प्रायोजित तथ्याङ्कले निर्वाचन आचारसंहिताको उल्लंघन गर्नुका साथै पत्रकारिताको विश्वसनीयता गुमाउने शाहीको जिकिर छ।

साथै, सामाजिक सञ्जाल (फेसबुक, टिकटक, युट्युब आदि) मार्फत गलत सूचना र कृत्रिम सामग्री प्रसार गरी राजनीतिक ध्रुवीकरण गराउन खोजिएको भन्दै एमालेले सरोकारवाला सबैलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेको छ।