भारतको झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना, ७ जनाको मृत्यु
काठमाडौं । भारतको नागरिक उड्डयन क्षेत्रमा फेरि एक गम्भीर सुरक्षा संकट देखिएको छ। झारखण्डको चतरा जिल्लाको सिमरिया नजिकै सोमबार राति एयर एम्बुलेन्स दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै सात जनाको मृत्यु भएको आशंका गरिएको छ। दुर्घटना स्थल जंगलको गहिरो भागमा परेकाले मृत्यु हुनेको संख्या औपचारिक रूपमा पुष्टि हुन नसकेको चतराकी उपायुक्त कीर्तिश्री जीले समाचार संस्था पीटीआईलाई बताएकी छन्।
दिल्लीस्थित रेडबर्ड एयरवेज द्वारा सञ्चालित बीचक्राफ्ट सी ९० विमान राँचीको बीर्सा मुन्डा एयरपोर्ट बाट साँझ ७:११ बजे नयाँ दिल्लीका लागि उडेको थियो। भारतको उड्डयन नियामकका अनुसार साँझ ७:३४ बजे वाराणसीको करिब १०० नटिकल माइल दक्षिण-पूर्व क्षेत्रमा विमानले कोलकातासँग सञ्चार र राडार सम्पर्क गुमाएको थियो। केही समयपछि विमान सिमरिया नजिकैको जंगलमा खसेको पुष्टि भएको हो।
दुर्घटनाग्रस्त विमानको टेल नम्बर भीटी-एजेभी रहेको र यसमा एक बिरामीसहित सात जना सवार रहेको बताइएको छ। विमानमा ४१ वर्षीय बिरामी संजय कुमार, राँचीस्थित देवकमल अस्पतालबाट सरेका डा. विकास कुमार गुप्ता, प्यारामेडिक सचिन कुमार मिश्र, दुई परिचारिका अर्चना देवी र धुरु कुमार, तथा दुई क्याप्टेन विवेक विकास भगत र सवराजदीप सिंह रहेका थिए।
रेडबर्ड एयरवेज २०१८ मा स्थापना भएको कम्पनी हो र २०१९ देखि गैर–निर्धारित (चार्टर्ड) उडान सेवा सञ्चालन गर्दै आएको छ। डीजीसीएका अनुसार कम्पनीको फ्लीटमा छ वटा विमान छन्, जसमा सोमबार दुर्घटनाग्रस्त भएको विमान पनि समावेश थियो।
यस दुर्घटनाले चार्टर्ड जेट तथा एयर एम्बुलेन्स सेवा प्रदायकहरूको नियमन र निगरानीमाथि गम्भीर प्रश्न उठाएको छ। यसअघि पनि भारतमा गैर-अनुसूचित उडानसँग सम्बन्धित दुर्घटनाहरू भएका थिए। डीजीसीएले सबै गैर-अनुसूचित अपरेटरहरूको विशेष लेखा परीक्षण गरिरहेको बताए पनि ती प्रतिवेदनहरू सार्वजनिक भइसकेका छैनन्।
राँची विमानस्थलका निर्देशकका अनुसार दुर्घटनाको सम्भावित कारण खराब मौसम हुन सक्ने अनुमान गरिएको छ, तर वास्तविक कारण विस्तृत अनुसन्धानपछि मात्र पत्ता लाग्नेछ। यसबीच, देवकमल अस्पतालका सीईओ अनन्त सिन्हाले बिरामीका परिवारले राम्रो उपचारका लागि दिल्ली लैजाने निर्णय गरेपछि एयर एम्बुलेन्सको व्यवस्था गरिएको जानकारी दिएका छन्।
पूर्व झारखण्ड मुख्यमन्त्री तथा भाजपा नेता चम्पाई सोरेनले सामाजिक सञ्जालमार्फत दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।
