वेस्ट बैंकमा इजरायलको कदमप्रति राष्ट्र सङ्घद्वारा चिन्ता व्यक्त
संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले कब्जा गरिएको वेस्ट बैंकको ‘क्षेत्र ए’ र ‘क्षेत्र बी’ मा प्रशासनिक तथा प्रवर्तनका उपायहरू लागू गर्ने इजरायली सुरक्षा क्याबिनेटको निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
महासचिवका प्रवक्ता स्टेफन दुजारिकमार्फत सोमबार जारी गरिएको एक विज्ञप्तिमा इजरायलको यस्तो कदमले यस क्षेत्रमा जारी द्वन्द्वलाई थप चर्काउने र शान्तिको सम्भावनालाई क्षीण बनाउँदै लगेको उल्लेख गरिएको छ। महासचिवले वर्तमान घटनाक्रम र इजरायली निर्णयले दीर्घकालीन शान्तिका लागि मानिएको ‘दुई-राज्य समाधान’ को अवधारणालाई नै गम्भीर असर पुर्याइरहेको भन्दै चेतावनी दिएको प्रवक्ताको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा उल्लेख भए अनुसार पूर्वी जेरुसेलम लगायत वेस्ट बैंकका सबै इजरायली बस्ती, त्यहाँको शासन व्यवस्था र पूर्वाधारहरूको कुनै कानुनी वैधता छैन। महासचिवले यी सबै संरचनाहरू अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र संघका विभिन्न प्रस्तावहरूको ठाडो उल्लङ्घन भएको स्पष्ट पारेका छन्। कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा इजरायलको निरन्तर उपस्थितिलाई अन्तर्राष्ट्रिय न्यायालयले समेत गैरकानुनी ठहर गरेको स्मरण गराउँदै राष्ट्र सङ्घले यस्ता कार्यहरूले क्षेत्रीय अस्थिरता निम्त्याउने बताएको छ।
राष्ट्र संघले इजरायललाई आफ्ना पछिल्ला निर्णयहरू तुरुन्त फिर्ता लिन आग्रह गरेको छ। साथै, महासचिवले सम्बन्धित सबै पक्षहरूलाई सुरक्षा परिषद्का प्रस्ताव र अन्तर्राष्ट्रिय कानुनको परिधिभित्र रही वार्ताको माध्यमबाट ‘दुई-राज्य समाधान’ को बाटो पहिल्याउन आह्वान गरेका छन्। स्थायी शान्तिका लागि यसबाहेक अर्को विकल्प नरहेको भन्दै राष्ट्र संघले शान्ति प्रक्रियालाई जीवित राख्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण समेत गराएको छ।
