बालेन शाहले झापा-५ बाट उम्मेदवारी दर्ता गरे, ओलीसँग प्रतिस्पर्धा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह (बालेन) ले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर-५ बाट उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार बिहान दमक नगरपालिका-८ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर बालेनले उम्मेदवारी दर्ता गराएका हुन्। उनी बिहान ११:१० बजे निर्वाचन कार्यालय पुगेका थिए। कागजात अपूर्ण भएका कारण मनोनयन प्रक्रिया केही समय लम्बिए पनि दिउँसो १२:४० बजे सबै प्रक्रिया पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ।
बालेनको प्रस्तावकमा भेषराज भट्टराई र समर्थकमा भूमिनन्द बराल रहेका छन्। उनले दर्ता नम्बर ४ मा उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्ताका क्रममा बालेन सयौँ समर्थकसहित दमक पुगेका थिए। बाजागाजा र नाराबाजीसहित निर्वाचन कार्यालयसम्म पुगेका उनलाई ठाउँ-ठाउँमा कलससहित स्वागत गरिएको थियो। उनका समर्थकहरूले दमकमा शक्ति प्रदर्शन समेत गरेका थिए।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिएका बालेनको उम्मेदवारीलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ। झापा-५ नै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र भएकाले यहाँको चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ। यस क्षेत्रबाट नेकपा (एमाले)का अध्यक्ष ओलीसहित अन्य दलका उम्मेदवारहरूले पनि मनोनयन दर्ता गर्दैछन्।
झापा-५ मा बालेन शाह र केपी शर्मा ओलीबीचको सम्भावित सीधा प्रतिस्पर्धाले राष्ट्रिय राजनीतिमा चासो बढाएको छ।


