जेनजी प्रदर्शनमा क्षति पुगेका सवारीलाई बागमती सरकारद्वारा कर छुट दिने निर्णय
बागमती प्रदेश सरकारले गत भदौ २३ र २४ गते भएको ‘जेनजी प्रदर्शन’का क्रममा पूर्णरूपमा क्षतिग्रस्त भएका सवारी साधनहरूलाई चालु आर्थिक वर्षका लागि कर, नवीकरण दस्तुर र जरिवानामा पूर्ण छुट दिने निर्णय गरेको छ।
प्रदेश सरकारको पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णय हालै राजपत्रमा प्रकाशित भएको हो।
प्रदेश सचिव झलकराम अधिकारीका अनुसार प्रदर्शनका क्रममा क्षति पुगेका सरकारी, सार्वजनिक, बोर्ड तथा निजी सबै प्रकारका सवारी साधनले यो सुविधा पाउनेछन्। भाडाका सार्वजनिक सवारी साधनका हकमा भने सवारी साधन कर र नवीकरण दस्तुरका साथै जाँचपास र बाटो इजाजतपत्र (रुट पर्मिट) नवीकरण दस्तुरमा समेत छुट प्रदान गरिने व्यवस्था गरिएको छ।
यो निर्णयले आन्दोलनका कारण भौतिक सम्पत्ति गुमाएका व्यक्तिहरुलाई राहत पुग्ने विश्वास थरिएको छ ।
देश व्यापी प्रदर्शनका क्रममा सबैभन्दा बढी केन्द्रीय राजधानी समेत रहेको बागमतीमा क्षति पुगेको थियो । भौतिक संरचना र सवारीसाधन जलाइएका थिए । आगजनी र तोडफोडका कारण अर्बौ रुपैयाँको क्षति पुगको थियो ।
पुरानो राजनीतिक प्रणाली र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै भदौको पहिलो सातादेखि युवाहरूले देशव्यापी प्रदर्शन सुरु गरेका थिए। युवाहरूको यो आन्दोलनले भदौ २३ र २४ गते उग्र रूप लिएको थियो।
