मन्त्रिपरिषद् निर्णयः निर्वाचनमा घाइते सुरक्षाकर्मीको सम्पूर्ण खर्च राज्यले बेहोर्ने

तु खबर संवाददाता
२०८२ फाल्गुन १३, बुधबार १५:१३

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन अवधिमा प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी घाइते भए उपचारमा लाग्ने सबै खर्च नेपाल सरकारले बेहोर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार सिंहदरबारमा आयोजित पत्रकार ब्रिफिङमार्फत उक्त निर्णय सार्वजनिक गरे। उनले निर्वाचनका क्रममा कुनै सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको जानकारी दिए।

यसका साथै मन्त्रिपरिषद्ले १६औँ योजना कार्यान्वयन कार्ययोजना स्वीकृत गरेको छ। यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धी जाँचबुझ आयोगको कार्यअवधि एक महिना थप गर्ने निर्णय पनि गरिएको छ।

सरकारले हितमान गुरुङलाई बेलायतका राजाद्वारा प्रदान गरिने बीईएम उपाधि ग्रहण गर्न स्वीकृति दिएको छ। त्यस्तै, रेडक्रस सोसाइटीको केन्द्रीय कार्य समितिको तदर्थ समितिलाई २०८३ साल असार मसान्तसम्म निरन्तरता दिई सो अवधिभित्र नयाँ कार्यसमिति गठन गर्ने गरी बाधा अड्काउ फुकाउने आदेश जारी गर्ने निर्णय भएको छ।

मन्त्रिपरिषद्ले न्याय सेवा आयोगको सिफारिस बमोजिम दुई जना उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ। चीन सरकारको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुँदै आएको कलंकीदेखि बसुन्धरासम्मको काठमाडौँ चक्रपथ सुधार आयोजना कार्यान्वयन सम्झौताअनुसार कर छुट दिने निर्णय समेत भएको छ।

त्यसैगरी, सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिनिधिसभा निर्वाचनपछि उपयुक्त समयमा आयोजना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ताले जानकारी दिएका छन।