अमेरिकी सैन्य कारबाहीपछि मदुरो न्यूयोर्क अदालतमा

तु खबर संवाददाता
२०८२ पुष २२, मंगलवार १५:२९

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो अमेरिकी सेनाद्वारा शनिबार उनकी श्रीमतीसहित पक्राउ परेपछि सोमबार पहिलो पटक न्यूयोर्कको अदालतमा सार्वजनिक रूपमा उपस्थित भएका छन्। काराकासबाट पक्राउ गरी न्यूयोर्क ल्याइएका मदुरो र उनकी श्रीमतीले अदालतको प्रारम्भिक सुनुवाइका क्रममा आफूहरूविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गरेका छन्। मदुरोले संयुक्त राज्य अमेरिकाले आफूहरूलाई “अपहरण” गरेको दाबीसमेत गरेका छन्।

मदुरो पक्राउ परेपछि भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको रूपमा जिम्मेवारी सम्हाल्न आदेश दिएको छ। अदालतले जबर्जस्ती अनुपस्थितिको अवस्थामा राज्यको निरन्तरता, सरकारको प्रशासन र सार्वभौमसत्ताको रक्षा गर्न आवश्यक कानुनी व्यवस्था तय गरिने जनाएको छ।

यसैबीच, कार्यवाहक राष्ट्रपति बनेकी रोड्रिगेजले शपथ ग्रहण गरेपछि अमेरिकासँग सहकार्य गर्न इच्छुक रहेको संकेत गरेकी छन्। तर उनको शपथ ग्रहणको केही समयपछि नै राष्ट्रपति दरबार नजिक गोली चलेको घटनाले देशको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।

विपक्षी नेता मारिया माचाडोले भने रोड्रिगेजको राष्ट्रपति पद अस्वीकार गर्दै नयाँ निर्वाचनको माग गरेकी छन्। फक्स न्यूजको ‘ह्यानिटी’ कार्यक्रममा बोल्दै उनले देश फर्कने वाचा गरिन् र भेनेजुएलामा लोकतान्त्रिक प्रक्रियामार्फत सत्ता परिवर्तन हुनुपर्ने बताइन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरो पक्राउपछि दक्षिण अमेरिकी राष्ट्रमा शक्ति संक्रमण नभएसम्म अमेरिकाले भेनेजुएलालाई “चलाउने” घोषणा गरेका छन्। हामी सुरक्षित, उचित र न्यायपूर्ण संक्रमण नभएसम्म देश चलाउनेछौं, ट्रम्पले भनेका छन्।यस घटनापछि क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा तनाव चर्किएको छ।