भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेपप्रति राष्ट्रसंघको गम्भीर आपत्ति
न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भेनेजुएलामा भएको अमेरिकी सैन्य हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई हिरासतमा लिइएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । आज सोमबार बसेको सुरक्षा परिषद्को बैठकमा महासचिवको तर्फबाट राजनीतिक तथा शान्ति स्थापना मामिलाका उपमहासचिव रोजमेरी डिकार्लोले उनको विशेष सम्बोधन प्रस्तुत गरेकी हुन् ।
संयुक्त राष्ट्रसंघद्वारा जारी महासचिवको सम्बोधनमा महासचिवले ३ जनवरीमा भएको सैन्य कारबाहीले अन्तर्राष्ट्रिय कानुनका नियमहरू पालना नगरेको र यसले विश्व व्यवस्थामा एक खतरनाक नजिर स्थापना गरेको सम्बोधनमा उल्लेख छ । सम्बोधनमा कुनै पनि राष्ट्रको क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रता विरुद्ध बल प्रयोग गर्नु संयुक्त राष्ट्रसंघको बडापत्रको घोर उल्लंघन भएको उल्लेख गरिएको छ।
भेनेजुएलाको आन्तरिक अवस्था पहिलेदेखि नै अस्थिर रहेको र सन् २०२४ को चुनावपछि तनाव झन् बढेको चर्चा गर्दै महासचिवले निर्वाचन पारदर्शिताको अभाव र मानव अधिकार उल्लंघनका घटनाबारे राष्ट्रसंघले पहिले नै सचेत गराएको स्मरण गराएको राष्ट्रसंघद्वारा मिडियाहरुको जानकारीको लागि सार्वजनिक महासचिवको मन्तव्यमा उल्लेख छ ।
उप-महासचिव डिकार्लोमार्फत प्रस्तुत वक्तव्यमा महासचिवले भेनेजुएलाका सबै पक्षलाई समावेशी र लोकतान्त्रिक संवादमा जुट्न आह्वान समेत गरेका छन् । उनले भेनेजुएलाका जनताको सार्वभौम इच्छा र मानव अधिकारको पूर्ण सम्मान गर्दै शान्तिपूर्ण निकास पहिल्याउनुपर्नेमा जोड दिएका छन् ।
अन्तमा, महासचिवले कानुनको शक्ति सधैं हावी हुनुपर्ने बताउँदै विवाद समाधानका लागि अन्तर्राष्ट्रिय कानुनी संयन्त्रहरू नै सर्वोत्तम विकल्प भएको उल्लेख गरे। महासचिवले भेनेजुएलालाई शान्तिपूर्ण मार्गमा फर्काउन गरिने सबै प्रयासमा राष्ट्रसंघको समर्थन रहने प्रतिबद्धता समेत बताएका छन् ।


