विशेष महाधिवेशनको औचित्य समाप्त भएको कांग्रेस प्रदेश सभापतिहरूको दाबी
नेपाली कांग्रेसका पाँच प्रदेशका सभापतिहरूले विशेष महाधिवेशनको औचित्य समाप्त भएको बताएका छन् । आज एक संयुक्त विज्ञप्ति जारी गर्दै कोशी प्रदेशका सभापति उद्धव थापा, मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव, बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेशका सभापति ललितजंग शाही र सुदूर पश्चिम प्रदेशका सभापति बिरबहादुर बलायरले संयुक्त विज्ञप्ती जारी गर्दै विशेष महाधिवेशनको औचित्य समाप्त भएको बताएका हुन् ।
उनीहरुद्वारा जारी गरिएको विज्ञप्ती अनुसार, २०८२ पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने तालिका रहे पनि क्रियाशील सदस्यता नवीकरण र वितरणको कार्य समयमै सम्पन्न नभएकाले निर्धारित समयमा महाधिवेशन हुन नसक्ने भई नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ को निर्णय अनुसार २०८३ वैशाख २८–३१ मा नियमित महाधिवेशन सम्पन्न हुने गरी नयाँ मिति तय भएकोले विशेष महाधिवेशनको औचित्य समाप्त भएको हो ।
नयाँ कार्यतालिका सार्वजनिक भएसँगै प्रदेश सभापतिहरूले देशभरका सम्पूर्ण कांग्रेसजनहरूलाई कुनै अन्योलमा नपरी एकताबद्ध हुन र नियमित महाधिवेशनको तयारीमा लाग्न आह्वान समेत गरेका छन् । विज्ञप्तिमा विशेष गरी संगठनको मेरुदण्डका रूपमा रहेको क्रियाशील सदस्यताको व्यवस्थापनलाई पूर्णता दिई महाधिवेशनको वातावरण बनाउन जोड दिइएको छ। नियमित महाधिवेशनको मिति सरे पनि पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन सबै तहका समितिहरू सक्रिय रहनुपर्ने धारणा उनीहरुको छ ।
यसका साथै, आगामी २०८२ फागुन २१ गते सम्पन्न हुने आम निर्वाचनलाई दृष्टिगत गर्दै पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने कार्यमा सम्पूर्ण शक्ति परिचालन गर्न विज्ञप्ति मार्फत आह्वान गरिएको छ।
