आयोगद्वारा बयानपछि पूर्व प्रधानमन्त्री ओलीको स्थानहद फुकुवा

तु खबर संवाददाता
२०८२ पुष २१, सोमबार २१:२२
तस्बिर : प्रतिनिधिसभा, नेपाल

काठमाडौँ। जेनजी आन्दोलन सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवा गरेको छ। ओलीको स्थानहदको फुकवासँगै आयोगले स्थानहद लगाएका सबै व्यक्तिहरुको स्थानहद फुकुवा भएको छ ।

भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठित आयोगको आजको बैठकले सोधपुछको प्रक्रिया सकिएसँगै स्थानहद फुकुवा गर्ने निर्णय गरेको हो। आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार यस निर्णयसँगै आयोगले स्थानहद लगाएका सबै व्यक्तिको प्रतिबन्ध । यसअघि आयोगले असोज १२ गते निर्णय गर्दै तत्कालीन प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई स्थानहद लगाएको थियो।

यसै क्रममा आयोगका प्रतिनिधिहरूले हिजो मात्रै भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेर उनीसँग लिखित जवाफ लिएका थिए। सोधपुछका क्रममा अध्यक्ष ओलीले आन्दोलनकारीमाथि गोली चल्दा कैयौँको ज्यान गएको घटनामा आफ्नो कुनै संलग्नता नरहेको आशयको बयान दिएका छन्। आयोगले हालसम्म झन्डै १५० जनासँग सोधपुछ गरिसकेको र जेनजी आन्दोलनसम्बन्धी सोधपुछको कार्य लगभग अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।

गौरीबहादुर कार्कीको नेतृत्वमा गठित यस उच्चस्तरीय जाँचबुझ आयोगले तोकिएको समयमै प्रतिवेदन बुझाउने गरी लेखन कार्यलाई तीव्रता दिएको छ। सरकारले सुरुमा तीन महिनाको समय दिएर गठन गरेको यस आयोगको म्याद पछि एक महिना थपिएको थियो। थपिएको म्याद आगामी माघको पहिलो हप्ता सकिने भएकाले सोही अवधिभित्रै प्रतिवेदन बुझाउने तयारी भइरहेको प्रवक्ता शर्माले बताए ।