रास्वपाको केन्द्रीय समिति बैठक भोलि, पार्टी एकता र विस्तार मुख्य एजेन्डा

तु खबर संवाददाता
२०८२ पुष १९, शनिबार १८:४६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक भोलि पुस २० गते बोलाएको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ।

पार्टी सभापति रवि लामिछानेको आह्वान तथा महामन्त्री कविन्द्र बुर्लाकोटीको समन्वयमा बैठक बोलाइएको हो। महामन्त्री बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार बैठकमा केन्द्रीय समितिका सबै सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

बैठकको मुख्य एजेन्डामा पार्टी समायोजन, विस्तार तथा सुदृढीकरण सम्बन्धी विषयमा विस्तृत छलफल हुने बताइएको छ। विशेषगरी आगामी फागुन २१ गते हुने चुनावलाई लक्षित गर्दै पार्टीको रणनीति र संगठनात्मक संरचना मजबुत बनाउने विषयमा निर्णय हुने अपेक्षा गरिएको छ।

रास्वपाले हालै उज्यालो नेपाल पार्टी तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग एकता गर्ने निर्णय गरिसकेको छ। त्रिपक्षीय सहमतिअनुसार रास्वपाको सभापति रवि लामिछाने रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह रहने र कुलमान घिसिङ वरिष्ठ उपसभापति बन्ने उल्लेख छ।

यसै सन्दर्भमा भोलि बस्ने केन्द्रीय समिति बैठकमा पार्टी एकता, संगठन विस्तार र सुदृढीकरणका विषयलाई औपचारिक रूप दिने गरी छलफल हुने र आवश्यक निर्णय लिइने पार्टीले जनाएको छ।