रास्वपाको समानुपातिक सूचीबाट सचिन ढकालले लिए उम्मेदवारी फिर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेका युवा उद्यमी सचिन ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा उनको नाम परेपछि चौतर्फी विरोध सुरु भएको थियो। त्यसपछि शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश लेख्दै ढकालले समानुपातिक उम्मेदवारीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको घोषणा गरेका हुन्।
फेसबुकमा लेख्दै उनले संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै व्यक्तिगत कारणवश यस पटक सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको उल्लेख गरेका छन्। साथै उनले पार्टी नेतृत्वप्रति आभार पनि व्यक्त गरेका छन्।
सचिन ढकाल नेपाल उद्योग वाणिज्य महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका छोरा हुन्। उनी रास्वपाको समानुपातिक सूचीमा खस आर्य पुरुष क्लस्टरको दोस्रो नम्बरमा थिए।


