धरौटी बुझाएपछि रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै

तु खबर संवाददाता
२०८२ पुष ४, शुक्रबार ०९:४७
file-photo

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज धरौटी बुझाएर रिहा हुने भएका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार सशर्त रिहा गर्न आदेश दिएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न आज उनलाई रुपन्देही जिल्ला अदालत लगिँदै छ।

सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पुर्पक्षका लागि ललितपुरस्थित नख्खु कारागारमा थुनामा रहेका लामिछानेलाई न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले  सर्तसहित थुनामुक्त गर्न आदेश दिएको हो। आदेशअनुसार बिगोका हकमा थप दायित्व सिर्जना भए तिर्न-बुझाउन मञ्जुर हुने कागज गराउनुपर्नेछ।

रुपन्देही जिल्ला अदालतका अनुसार उच्च अदालतको आदेश प्राप्त भइसकेको छ र बैंक जमानत प्रमाणीकरण तथा सनाखतसहितको प्रक्रिया पूरा भएपछि उनलाई रिहा गरिनेछ। लामिछानेले यसअघि आफ्नो भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक ग्यारेन्टी बुझाइसकेका छन्। साथै, जिल्ला अदालतले २०८१ माघ १३ गते तोकेको १ करोड रुपैयाँ धरौटी पुनः बुझाउनुपर्नेछ।

यसअघि जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गर्न आदेश दिए पनि दुवै पक्षको पुनरावेदनपछि उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको थियो। त्यसयता करिब आठ महिनादेखि थुनामा रहेका लामिछाने उच्च अदालतको पछिल्लो आदेशसँगै आज रिहा हुन लागेका हुन्।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहित चार जनामाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरिएको छ। अदालतले बचतकर्ताको रकम सुनिश्चिततालाई प्राथमिकता दिँदै बैंक जमानत स्वीकार गरी मुद्दाको कारबाही अघि बढाउने निर्णय गरेको जनाएको छ।