नयाँ बानेश्वरमा एमाले निकट युवाहरूको मार्चपास

तु खबर संवाददाता
२०८२ मंसिर ५, शुक्रबार १२:४१

काठमाडौं । नेकपा एमालेले गठन गर्न लागेको ‘नेसनल भोलेन्टियर फोर्स (एनभीएफ)’ घोषणा कार्यक्रमलाई लक्षित गर्दै एमाले समर्थित युवाहरू शुक्रबार बिहानैदेखि विभिन्न स्थानमा भेला भएर मार्चपास थालेका छन्। नागरिक उड्डयन प्राधिकरणको कार्यालय अगाडि समेत ठूलो सङ्ख्यामा युवा भेला भएका छन्।

पार्टीको नीति तथा नेतृत्वको सुरक्षा, जन–सहयोग, प्राकृतिक विपत्मा राहत–उद्धार तथा सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यसहित एमालेले आज औपचारिक रूपमा एनभीएफ घोषणा गर्न लागेको हो। माइतीघरमा प्रारम्भिक भेला गर्ने तयारी रहे पनि त्यहाँ जेन–जी आन्दोलनका घाइतेहरूले धर्ना बसेपछि कार्यक्रम स्थल परिवर्तन गरी सहभागीहरू बबरमहलतर्फ सरेका छन्। त्यसपछि बबरमहलबाट नयाँ बानेश्वरसम्म मार्चपास गर्दै घोषणा सभामा सहभागी भइरहेका छन्।

युवा नेता मधेश बस्नेत, युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेललगायतले मार्चपासको नेतृत्व गरेका छन्। पैदल तथा मोटरसाइकलमा समेत युवा सहभागिता देखिएको छ। बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुने प्रमुख कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै एनभीएफको औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।