एमालेले मंसिर २७ गते काठमाडौंमा इतिहासकै सबैभन्दा ठूलो जनसभा गर्ने

तु खबर संवाददाता
२०८२ कार्तिक १७, सोमबार १५:०५

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले आगामी मंसिर २७ गते काठमाडौंमा नेपालको इतिहासकै सबैभन्दा ठूलो जनसभा आयोजना गर्न लागेको बताएका छन् । सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले उक्त जनसभामार्फत जनता कसको पक्षमा छन् भन्ने स्पष्ट हुने दाबी गरे ।

उनका अनुसार एमालेले मंसिर २७ देखि २९ गतेसम्म ११ औँ महाधिवेशन गर्ने तयारी गरेको छ । सोअघि देशभर विभिन्न चरणमा जनसम्पर्कका कार्यक्रम सञ्चालन हुने छन् । “कात्तिक २२ गते सबै वडामा जनभेला, २५ गते पालिकामा जनर्‍याली, २९ गते जिल्लास्तरीय सभा र मंसिर ६ गते उपत्यकास्तरीय सभा गर्दैछौं,” पोखरेलले भने, “र मंसिर २७ गते नेपालको इतिहासमै सबैभन्दा ठूलो जनसभा काठमाडौंमा गर्नेछौं।”

महासचिव पोखरेलले प्रमुख राजनीतिक दलबाट जनता अलग भइसके भन्ने भाष्य गलत रहेको बताउँदै, त्यसलाई खारेज गर्ने उद्देश्यले जनसभा आयोजना गर्न लागेको स्पष्ट पारे । उनका अनुसार, “हामी देखाउन चाहन्छौं— जनता कसका साथमा छन् । जनता कहिल्यै हिंसा, अराजकता र लुटपाटको साथमा हुँदैनन् ।”यसअघि एमाले सचिवालयको बैठकले देशभर चरणबद्ध आन्दोलनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । पोखरेलका अनुसार, उक्त जनसभापछि जनता एमालेकै पक्षमा रहेको स्पष्ट देखिनेछ ।