विप्लव नेतृत्वको नेकपा दल दर्ता प्रक्रियामा

तु खबर संवाददाता
२०८२ कार्तिक ११, मंगलवार १३:०१

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दल दर्ता प्रक्रियाका लागि आज निर्वाचन आयोग जाँदैछ। प्रवक्ता खड्गबहादुर विश्वकर्मा, स्थायी समिति सदस्य तथा कार्यदल संयोजक कर्णजित बुढाथोकी, सदस्य चिरञ्जीवी ढकाल, नेता सन्तोष बुढामगरलगायतका नेताहरू वकिल टोलीसहित आयोगको केन्द्रीय कार्यालय, कान्तिपथ पुग्ने तयारीमा छन्।

विप्लव नेतृत्वको नेकपाले आगामी फागुन २१ गते तय भएको निर्वाचनमा सहभागी हुने लक्ष्यसहित दल दर्ता प्रक्रिया अघि बढाएको हो। निर्वाचन आयोगले कात्तिक ३० गतेभित्र दल दर्ता सम्पन्न गर्नुपर्ने समयसीमा तोकेको छ।

दल दर्ताका लागि तयार गरिएको प्रस्तावअनुसार पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ रहनेछ। कार्यदल सदस्य चिरञ्जीवी ढकालका अनुसार तीनवटा वैकल्पिक नामका प्रस्तावसहित आयोगमा निवेदन बुझाइनेछ। उनले भने, “हामीले कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेका छौं। आयोगसँग छलफल गरी अन्य सम्भावित नामबारे पनि अन्तिम निष्कर्षमा पुग्नेछौं। सकेसम्म पार्टीको नाम पछाडि फुर्को नजोड्ने सोच राखेका छौं।”

ढकालले दल दर्ताका लागि आवश्यक कागजातहरू तयार पारिएको जानकारी दिँदै १५ सय सदस्यको हस्ताक्षरसहित विधान पनि आयोगमा बुझाइने बताए। उनले थपे, “यदि केही दस्तावेज बाँकी परेमा पछि उपलब्ध गराउनेछौं।”

विप्लव नेतृत्वको नेकपाले यसअघि २०८१ चैत १९ गते दल दर्ताका लागि आवश्यक तयारी अध्ययन गर्न कर्णजित बुढाथोकीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो।

दल दर्ता प्रक्रियासँगै विप्लव नेतृत्वको नेकपाले औपचारिक रूपमा संसदीय राजनीतिमा प्रवेश गर्ने तयारी गरेको बुझिएको छ।