अवस्था यस्तै रहिरहे फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्छ – केपी ओली

तु खबर संवाददाता
२०८२ कार्तिक २, आईतवार १६:२४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक अवस्था निरन्तर रहिरहे आफू पुनः प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने दाबी गरेका छन्। जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई उनले “दुई दिनको तमासा” भन्दै टिप्पणी गरे।

आइतबार राजधानीमा सञ्चार माध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा उनले भने, यदी अवस्था यस्तै नै रहिरहे भने जनताले फेरि मलाई सरकारमा पुर्‍याउने अवस्था बन्छ। यो युवाबाट चल्दैन, ‘केपी ओली फिर्ता ल्याऊ’ भन्ने अवस्था आउँछ। तर उनले यो कुरा जनताले सहनु नपर्ने पनि स्पष्ट पारे।

सरकारले उपत्यका छाड्न रोक लगाएको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै ओलीले यस्तो कदमले जनताको स्वतन्त्रताको हनन भएको दाबी गरे। उनले भने, जसको घरमा आगो लाग्यो, म त्यहाँ सान्‍त्वना दिन जान नपाउने? देशभित्र हिँडडुल गर्न नपाउने कस्तो सरकार बन्यो?”

ओलीले आफ्नो सुरक्षा व्यवस्थासमेत सरकारले फिर्ता लिएको गुनासो गर्दै थपे, वडाध्यक्ष र मेयरलाई सुरक्षा बढाउँछ, तर मेरो सुरक्षा खोस्छ। सरकारको यस्तो व्यवहारबाट म माथि थ्रेट थपीएको छ।

उनले आफू १४ वर्षको उमेरदेखि राजनीति र राष्ट्र निर्माणमा लागेको व्यक्ति भएको उल्लेख गर्दै भने, म किन अँध्यारो मुख लगाउनु? मलाई केही कुराले दुख दिँदैन, न अनुभूति नै हुन्छ। सम्पादकहरूलाई पनि उनले आफूलाई बोलाउनुअघि सम्पादकीयमा ध्यान दिन आग्रह गरे।

ओलीको भनाइ अनुसार, वर्तमान राजनीतिक अनिश्चितता दीर्घकालसम्म रहिरहे नागरिक नै परिवर्तनको मागसहित आफूलाई पुनः सत्तामा ल्याउने धारणा बन्न सक्ने चेतावनी उनले सरकारलाई दिए।