आज तिहारको पहीलो दीन, काग तिहार र धन्वन्तरी जयन्ती उत्साहपूर्वक मनाइँदै

तु खबर संवाददाता
२०८२ कार्तिक २, आईतवार ०८:४६

काठमाडौं । आजदेखि देशभर पाँचदिने उज्यालो र रमाइलो पर्व तिहार अर्थात् यमपञ्चकको विधिवत् शुरुवात भएको छ। तिहारको पहिलो दिन आज काग तिहार र धन्वन्तरी जयन्ती एकसाथ परेकाले देशभर विशेष उत्साह र श्रद्धाका साथ मनाइँदैछ।

नेपाली परम्परा अनुसार आजको बिहान घर–घरमा कागलाई मीठा परिकार अर्पण गरी पूजा गर्ने चलन रहिआएको छ। कागलाई शुभ–अशुभ सन्देशका वहनकर्ता तथा यमराजका दूतका रूपमा सम्मान गर्ने मान्यता छ। विश्वास गरिन्छ कि कागको पूजा गर्दा अशुभ समाचार टर्छ र घरमा शुभताको आगमन हुन्छ।

यही दिन आयुर्वेदका प्रणेता तथा स्वास्थ्यका देवता भगवान धन्वन्तरीको जन्मजयन्ती पनि मनाइन्छ। धन्वन्तरीको पूजा आराधनाले स्वास्थ्य लाभ, आयुर्वेदिक ज्ञानको वृद्धि र दीर्घायु प्राप्त हुने विश्वास लोकविश्वासमा रहेको छ।

तिहारको शुरुवातसँगै घर–घरमा सजावट, दीया बत्तीको तयारी र पुजाआराधनाको माहोल सुरु भइसकेको छ। भोलि दोस्रो दिन कुकुर तिहार मनाइनेछ भने क्रमशः लक्ष्मीपूजा, गोवर्धन पूजा र भाइटीकासहित तिहारको यमपञ्चक सम्पन्न हुनेछ।