सरकारले फिर्ता बोलायो राजदुत
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले नियुक्त गरेका विभिन्न देशका राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आज बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले ती राजदुतहरुलाई कात्तिक २० गतेभित्र फिर्ता बोलाउने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार मन्त्री जगदीश खरेलले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका लगायतका देशहरुका राजदुतहरु फिर्ता बोलाउने निर्णय गरेको हो ।
फिर्ता बोलाइएकाहरूमा चीनका लागि नेपाली राजदूत प्राध्यापक डाक्टर कृष्ण प्रसाद ओली, जर्मनीका लागि नेपाली राजदूत डाक्टर शैल रुपाखेती, इजरायलका लागि नेपाली राजदूत प्राध्यापक धनप्रसाद पण्डित, मलेसियाका लागि नेपाली राजदूत डाक्टर नेत्र प्रसाद तिमिल्सिना, कतारका लागि नेपाली राजदूत रमेश चन्द्र पौडेल, रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहान साउदी अरबका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल, स्पेनका लागि नेपाली राजदूत सनिल नेपाल, संयुक्त अधिराज्यका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे, संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत लोकदशर्न रेग्मी र जापानका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारले जनाएको छ ।
जेन जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले पनि यस अघिका सरकारलेजस्तै आफ्नो कार्यकालअघि नियुक्त भएका राजदुतहरुलाई फिर्ता बोलाउने प्रथालाई निरन्तरता दिएको हो ।
