दसैँ टीकाको उत्तम साइत बिहान ११:५३ मा

तु खबर संवाददाता
२०८२ आश्विन १६, बिहीबार ०८:२६

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैंको मुख्य दिन आज देशभर मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमी टीकाको शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको जनाएको छ। समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालका अनुसार देवी विसर्जनको साइत भने बिहान ९ बजेर २३ मिनेटमा निर्धारित गरिएको छ।

समितिले परम्पराअनुसार टीका लगाउँदा पूर्वतर्फ फर्कनुपर्ने जानकारी दिएको छ। घटस्थापनाको दिन वैदिक विधिअनुसार स्थापना गरिएको घडाबाट अभिषेक गरी टीका लगाइने चलन छ। यस दिन दुर्गाको प्रसादका रूपमा रातो टीका र पहेँलो जमरा मान्यजनबाट ग्रहण गरिन्छ, जसलाई समृद्धि र आशीर्वादको प्रतीक मानिन्छ।

आजको दिन नभ्याउनेहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्ने परम्परा रहेको छ। यसरी विजयादशमीको टीका केवल धार्मिक आस्था मात्र नभई पारिवारिक मिलन, सामाजिक एकता र सांस्कृतिक सम्पर्कको महत्त्वपूर्ण माध्यमका रूपमा पनि मनाइन्छ।

551524259_1102501118697767_6091755682330152620_n-(1)_0bXwSAgxCI