देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ : पूर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी राजदरबारबाट बाहिरिएको करिब दुई दशक बितिसक्दा पनि देशले सामना गरिरहेको गम्भीर संकटले आफूलाई चिन्तित तुल्याएको बताएका छन्।
३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा सन्देश जारी गर्दै पूर्वराजा शाहले विगत र वर्तमानको तुलना गर्दै देशको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन्। उनले भनेका छन्, हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।
पूर्वराजा शाहले भाषण, जादू वा चमत्कारले देश बन्न नसक्ने उल्लेख गर्दै राष्ट्रिय सहमति बिना खोजिने निकास समयको बर्बादी मात्रै हुने धारणा राखेका छन्। सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा काम गरेको राजसंस्था जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुन नसक्ने उनको भनाइ छ।
उनले सबै नेपालीले कर्तव्यबोध गर्दै ‘पृथ्वीपथ’मा लाग्नुपर्नेमा जोड दिँदै राष्ट्रिय एकता र सहमतिबाट मात्रै देशले निकास पाउन सक्ने आह्वान गरेका छन्।
