शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक
काठमाडौँ । शिक्षकहरुको माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलन गर्ने भएको छ । आज राजधानी काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले सरकारसँग भएको सहमति बमोजिम शिक्षकहरुको माग सम्बोधन नभएकोले थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको जानकारी दिएको छ ।
महासंघका अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ भने भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम छ ।
भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने महासंघले जनाएको छ । महासंघका अनुसार, भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र अवधारणात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याउने तयारी भएको छ ।
अबको आन्दोलन झनै सशक्त हुने महासंघले जनाएको छ ।


