बागमती प्रदेश सरकारलाई गोसाईका २३ सुझाव

तु खबर संवाददाता
२०८२ श्रावण २७, मंगलवार २१:१५

हेटौंडा । नेपाल मजदुर किसान पार्टी बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सरकारलाई महत्वपूर्ण सुझावहरु दिएका छन् ।

बागमती प्रदेशसभामा आज मंगलबार मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश भएपछि छलफलमा बोल्दै नेता गोसाईले सरकारलाई २३ बुँदामा सुझावहरु दिएका हुन् ।
गोसाईले प्रदेशसभामा बोल्दै सरकारलाई दिएका सुझाव-

– मुख्यमन्त्री तथा मन्त्रीहरुले पद सम्हाल्नुभन्दा अगाडि आफूले संसद् र बैठकमा बोलेका रेकर्ड सुन्नुहोला
– निर्वाचनका समयमा जनतासमक्ष गरिएका वाचा तथा प्रतिवद्धता पुनः पढ्नुहोला ।
– आआफ्ना दलका घोषणापत्र दोहोर्याएर अध्ययन गर्नुहोला ।
– विदेशीको पैसा नखाएका तथा तलब नलिएका विषय विज्ञहरुको सल्लाह सुन्नुहोला ।
– मितव्ययितासहित प्रदेश सरकारलाई चलाउनुहोला । भ्रष्टाचारीको सारथी वा रक्षक नबन्नु होला ।
– जेठ असारमा मात्र कूल बजेटको करीव ६० प्रतिशत बजेट खर्च गर्ने परम्परा हटाउनु होला ।
– ऋण लिएर प्रदेशको विकास गर्ने काम त्यागौँ ।
–.फागुन चैत महिना भित्रै नयाँ बजेट बारे महत्वपूर्ण छलफल, अन्तरक्रिया तथा अभ्यास गरौँ । पुरानो बजेटको समीक्षा गरौँ ।
–प्रदेश सरकार र मातहतका कार्यालयहरुले प्रदेशभित्र उत्पादित बस्तुको प्रयोग अनिवार्य गरौँ । नीतिगत रुपमै स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकतामा राखौँ ।
– नमूना पालिकाका अभ्यास तथा उपलब्धी बारे तत्तत् ठाउँमा पुगी अध्ययन अन्तरक्रिया गरौँ ।
– सहकारी पिडित प्रदेशवासीका समस्या समाधानमा ध्यान दिऔँ । सहकारीका आर्थिक अपराधीहरुलाई बिना भेदभाव दण्ड दिन र तिनको घरघरानाबाट असुल गरौँ, तिनको राहदानी जफत गरौँ ।
– प्रदेशभित्रका विद्यार्थीहरुले आ आफ्नै जन्मस्थानमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण तयार गरौँ । रोजगारीको बन्दोबस्त गरी गाउँ खण्डहर हुनबाट जोगाखौँ ।
– हेटौंडा र आसपासका क्षेत्रमा मेडिकल खोली नयाँ काम सुरु गरौँ ।
– काठमाडौं उपत्यकापछि हेटौंडालाई सुन्दर नगरीको रुपमा विकास गरौँ, हेटौंडालाई प्रदेश राजधानीको रुपमा देऔँ, सोही स्तरको सडक निर्माण गरौँ ।
– साना तथा मझौला उद्योगहरु संचालनमा प्राथमिकता दिऔँ । घरेलु उद्योग तथा व्यवसाय मार्फत् अर्थतन्त्रलाई लयमा फर्काउन प्रतिवद्ध भएर लागौँ ।
– जिल्ला जिल्लाका अस्पताललाई आधुनिक उपकरणले सुसज्तित बनाऔँ । त्यसका निम्ति दक्ष जनशक्ति तयार गरौँ ।
–जिल्ला जिल्लाका स्कूल कलेजलाई यथोचित ध्यान दिऔँ । छोराछोरीले देशमै पढून्, स्वदेशमै केही गरुन् ।
–राजनीतिको अपराधीकरण र अपराधीको राजनीतिकरणले सिमा नाघ्यो । थोरै नैतिकता अझै बाँकी छ भन्ने सन्देश दिऔँ ।
–पहिले पहिले चोरहरु मन्त्री बन्दैनथे, एक कविले लेखे । यसलाई वर्तमानमा सार्थक बनाउन पहल गरौँ ।
–लोकतन्त्र र गणतन्त्रको नाउँमा शोसक, भ्रष्टाचारी पक्षपातीहरु सत्तामा पुगे भनी जनता आक्रोश व्यक्त गर्छन्, अब अपवाद बनी मौकाको फाइदा उठाउनुहोस् ।
– भाषा, कला, सस्कृति र सम्पदामा बागमती प्रदेश बैभवशाली छ । यसको संरक्षण बागमती प्रदेश सरकारको दायित्व हो । लोप भएका सम्पदा पुर्ननिर्माण गर्न आवश्यक छ । जीर्ण सम्पदाको जिर्णोद्दारमा प्रदेशले सहकार्य गर्न आवश्यक छ ।
– तीज, दशैँ तिहार आउँदैछ । महंगी बढ्दैछ । हाम्रो प्रदेशसँग जोडिएका कोदारी र केरुङ नाका बन्द छन् । नाका बन्द राख्न अर्को शक्ति चलायमान हुनु र चलखेल हुनु दुर्भाग्यपूर्ण छ । प्रदेश सरकारले पनि आवश्यक समन्वय गरोस् । देश र प्रदेशलाई जे हित हुन्छ त्यो गरौँ ।
– गठबन्धनका दुबै दल समाजवादमा सहमत भएको बताउँछन् । समाजवाद भनेको नारा होइन । बहुसंख्यक कामदार जनताप्रतिको बफादारिता, प्रतिवद्धता र प्राथमिकता हो । गरिवीबाट उन्मुक्ति हो । शोषण अन्यायको अन्त्य हो । आर्थिक समानता र न्यायमा आधारित बन्दोबस्त हो । आत्मनिर्भर अर्थतन्त्रको विकास हो । शिक्षा स्वास्थ्यको निशुल्क बन्दोबस्त हो । उत्पादनका साधनमा सामुहिक स्वामित्व हो । सभ्य, सम्पन्न र शान्त सुन्दर समाजको निर्माण हो ।