भारतले रूसबाट तेल किन्न रोक्ने संकेत, ट्रम्पबाट समर्थन

तु खबर संवाददाता
२०८२ श्रावण १७, शनिबार १०:०८
Photo by - Gage Skidmore

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि उनले भारतले अब रूसबाट तेल किन्न रोक्ने सम्भावना रहेको सुनेका छन्। यद्यपि उनले यकिन गरेर भन्न नसकेको स्वीकार गरे।

“मैले सुनेको हो, भारतले अब रुसबाट तेल किन्ने छैन। यो राम्रो कदम हो। हेर्नेछौं के हुन्छ,” ट्रम्पले पत्रकारहरूलाई बताए।

यो भनाइ ट्रम्पले भारतविरुद्ध २५ प्रतिशत ट्यारिफ (कर) र रुसी ऊर्जा किनमेलमा अतिरिक्त ‘दण्ड’ लगाउने चेतावनीपछि आएको हो। उनले ट्रुथ सोशलमा पोस्ट गर्दै भारतले युक्रेन युद्धका बीचमा पनि रूसबाट तेल र सैन्य सामग्री खरिद गर्दै आएको भन्दै आलोचना गरेका थिए।

भारत हाल विश्वकै तेस्रो ठूलो तेल आयातकर्ता हो र समुद्रमार्ग हुँदै आउने रूसी कच्चा तेलको सबैभन्दा ठूलो खरिदकर्ता पनि। तर हालै रोयटर्सले भारतका सरकारी रिफाइनरहरूले गत हप्तादेखि रूसी तेल खरिद नगरेको उल्लेख गरेको छ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने भारत-रूस सम्बन्धलाई “स्थिर र समय-परीक्षण साझेदारी” भनेर जोगाउँदै आएका छन्। उनले भने, “भारत र अमेरिका साझा लोकतान्त्रिक मूल्य र जन-जनको सम्बन्धमा आधारित रणनीतिक साझेदार हुन्।”

उनले अमेरिकासँगको सम्बन्ध थप मजबुत बनाउने तयारी र रक्षा साझेदारीको सम्भावनालाई पनि औंल्याउँदै भारत अमेरिका सम्बन्ध अझै अगाडि बढ्नेमा विश्वास व्यक्त गरेका छन।