स्विट्जरल्याण्डमा नयाँ वर्षको उत्सवका बेला विस्फोट, कम्तीमा १० जनाको मृत्यु

तु खबर संवाददाता
२०८२ पुष १७, बिहीबार १४:४४

काठमाडौँ ।स्विट्जरल्याण्डको उच्चस्तरीय अल्पाइन स्की रिसोर्ट शहर क्रान्स-मोन्टानामा नयाँ वर्षको उत्सव मनाइरहेका बेला भीडभाड भएको एक बारमा भएको भीषण विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। घटना बिहीबार बिहान सबेरै भएको स्विस अधिकारीहरूले पुष्टि गरेका छन्।

दक्षिणपश्चिमी क्यान्टोन भलाइसका प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब १:३० बजे ले कन्स्टेलेसन नामक बारमा अचानक विस्फोट भएको हो। सो समयमा बारभित्र १०० भन्दा बढी मानिसहरूको उपस्थिति रहेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरी प्रवक्ता गेटन लाथियनले समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै अज्ञात कारणबाट विस्फोट भएको छ। यस घटनामा धेरै घाइते भएका छन् र धेरैको ज्यान गएको छ भनेका छन्। मृत्यु हुनेको यकिन संख्या अझै सार्वजनिक गरिएको छैन, तर केही स्थानीय सञ्चारमाध्यमहरूले मृतक संख्या अझै बढ्न सक्ने बताएका छन्।

घटनापछि सम्पूर्ण क्षेत्रलाई सिल गरिएको छ र सुरक्षाका कारण क्रान्स-मोन्टानामा अस्थायी रूपमा नो-फ्लाई जोन लागू गरिएको छ। दमकल, एम्बुलेन्स र प्रहरीका सवारी साधनहरू रातभर घटनास्थलमा तैनाथ रही उद्धार तथा नियन्त्रण कार्य गरिएको थियो।

स्विस सञ्चारमाध्यमहरूले प्रसारण गरेका तस्बिरहरूमा बार रहेको भवनको एक भागमा आगलागी भएको देखिन्छ। सामाजिक सञ्जालमा घटनासँग सम्बन्धित भनिएका भिडियोहरू पनि तीव्र रूपमा फैलिरहेका छन्।

अधिकारीहरूले विस्फोट र त्यसपछि लागेको आगलागीको कारण पत्ता लगाउन अनुसन्धान तीव्र पारेका छन्। विलासी स्की रिसोर्टमा नयाँ वर्षको उत्सव मनाइरहेका बेला भएको यस घटनाले सम्पूर्ण देशलाई शोकमा डुबाएको छ।