संयुक्त राष्ट्रसंघीय इकोसकको अध्यक्षमा नेपाल निर्वाचित
संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा नेपाल निर्वाचित भएको छ। संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित विशेष कार्यक्रममा इकोसकको अध्यक्षता ग्रहण गरेका छन् ।
निवर्तमान अध्यक्ष क्यानाडाका स्थायी प्रतिनिधि बब रेलेले नेपालका प्रतिनिधि थापालाई पद हस्तान्तरण गरेका छन् ।
इकोसकका अध्यक्ष थापाले विश्वका जल्दोबल्दो विकासात्मक चुनौतीहरूको लागि समावेशी, समन्वयकारी र नतिजामुखी समाधानहरू तयार गर्न इकोसकको भूमिकालाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।
नेपाल यसको अध्यक्ष बनेको पहिलो पटक हो । नेपालले चालिस वर्षमा विश्वस्तरमा प्रमुख जिम्मेवारी प्राप्त गरेको पहिलो पटक भएको नेपाली स्थायी नियोगले जनाएको छ ।



