देशभर मनसुनी प्रभाव सक्रिय, पहाडी क्षेत्रहरूमा भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८२ श्रावण १२, सोमबार ०६:५६

काठमाडौं— हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले सोमबार दिउँसो देशभर सामान्य बदली हुने पूर्वानुमान गरिएको छ।

गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी भू-भागमा तथा केही तराई क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज राति पनि गण्डकी प्रदेशसहित देशका पहाडी भागहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, केही स्थानहरूमा भारी वर्षा पनि हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आवश्यक सावधानी अपनाउन तथा पछिल्लो मौसमी जानकारी निरन्तर हेर्न महाशाखाले अनुरोध गरेको छ। भारी वर्षाका कारण बाढी, पहिरो तथा जलमार्गमा अवरोध आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारी र सजगता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।