नेप्से सूचक सामान्य बढ्यो, ११ महिनाको उच्च कारोबार

तु खबर संवाददाता
२०८२ श्रावण ४, आईतवार १७:०४

साताको पहिलो दिन आइतबार शेयर बजारमा सामान्य सुधार देखिएको छ। कारोबार अवधिभर उथलपुथल भए पनि नेप्से परिसूचक अन्ततः ०.३२ अंकले वृद्धि भई २,८७०.९५ विन्दुमा बन्द भयो। कारोबारको क्रममा दिउँसो १:०६ बजे सूचक २,९२२.३८ विन्दुसम्म उक्लिएको थियो।

आजको मुख्य आकर्षण भने कारोबार रकममा देखिएको छ। ३१६ वटा कम्पनीका ५ करोड १६ लाख कित्ता शेयर खरिदबिक्री भई कुल कारोबार रकम २१ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। यो कारोबार रकम पछिल्लो ११ महिनाकै सबैभन्दा उच्च हो। यसअघि भदौ २ गते २८ अर्ब ८३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो।

कम्पनीहरूको प्रदर्शनतर्फ हेर्दा, उन्नति सहकार्य लघुवित्त, सान्भि इनर्जी, ट्रेड टावर, शिव श्री हाइड्रोपावर र बिन्द्याबासिनी हाइड्रोपावरका शेयरमा सकारात्मक सर्किट लागेको छ। यसले यी कम्पनीका लगानीकर्तालाई लाभ दिएको छ।

त्यस्तै, हकप्रद निष्काशनको अनुमति पाएका सिटी होटल, एनएलजी इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स र नेपाल रिइन्स्योरेन्स कम्पनीका शेयरमा हरियाली छाएको छ।

आज बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, उत्पादन, माइक्रोफाइनान्स र व्यापार समूहबाहेक अन्य सबै समूहको शेयर बढेको देखिएको छ। विशेष गरी ‘अन्य समूह’ ३.३६ प्रतिशतले उकालो लागेको छ।

यसरी साताको सुरुवातमा नै उच्च कारोबार र केही कम्पनीमा सर्किट देखिनुले लगानीकर्तामा सकारात्मक सन्देश दिएको देखिन्छ।