सङ्घीय निजामती सेवा विधेयक राष्ट्रियसभामा टेबुल

तु खबर संवाददाता
२०८२ असार १८, बुधबार १४:४०
राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्याल निजामति कर्मचारी सम्बन्धी बिधेयक टेबुल गर्दै । तस्बिर : राष्ट्रियसभा नेपाल

काठमाडौँ । बाहेक शब्द थपेर विवादस्पद बनाइएको सङ्घीय निजामती सेवा विधेयक २०८० राष्ट्रियसभामा टेबुल गरिएको छ ।

आज बुधबार बसेको बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले उक्त विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गरेका हुन् ।

त्यसअघि बैठकको शून्य समयमा राष्ट्रिय सभाका सदस्यहरूले सङ्घीय निजामती सेवा विधेयकमाथि चलखेल भएको भन्दै छानबिन हुनुपर्ने माग गरेका थिए । राष्ट्रियसभा सदस्य रुक्मिणी कोइराला, बिष्णुकुमारी सापकोटा, श्रीकृष्ण अधिकारी लगायतकाले निजामती विधेयकमा चलखेल भएको भन्दै सत्य तथ्य बाहिर ल्याउन माग गरेका छन् ।

सांसदहरुले विधयेकमा भएको त्रुटी सच्याउनु पर्ने समेत माग गरेका छन् ।

यसअघि प्रतिनिधिसभाबाट सो विधेयक पारित हुँदा किर्ते गरेर बाहेक शब्द थप गरिएको खुलासा भएपछि अहिले यसबारे तिब्र बहस भइरहेको छ । समितिका सभापति रामहरि खतिवडा र महासचिव पद्मप्रसाद पाण्डेयलगायतमाथि अनुसन्धान हुनुपर्ने र उनीहरुले राजिनामा दिनुपर्ने माग चौतर्फी रुपमा उठिरहेको छ ।