विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

तु खबर संवाददाता
२०८२ असार ४, बुधबार १६:१७

काठमाडौँ । नेपाल सरकारले विश्व बैंकबाट प्राप्त हुने २० अर्ब ७९ करोड रुपैयाँ ऋण लिने भएको छ । पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि सो ऋण स्वीकार गर्न लागिएको हो ।

गत सोमबार बसेका मन्त्रिपरिषद् बैठकले सो ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । त्यस्तै दक्षिण कारिया सरकारबाट बर्दियामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख नेपाली रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय पनि सरकारको छ ।

यस बाहेक सो दिनको मन्त्रि परिषद् बैठकले थप १८ वटा विभिन्न निर्णयहरु गरेको छ । सो निर्णय अनुसार, बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण स्वीकृत गर्दै भ्रमण दल टंगो लगाउने निर्णय गरेको छ भने कही मन्त्रीहरुलाई वैदेशिक भ्रमणमा जान स्वीकृति समेत प्रदान गरेको छ ।

बैठकले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहाललाई टर्की, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई दुबइ, संचार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई जेनेभा, स्वास्थ्यमन्त्री प्रदिप पौडेललाई थाइल्याण्डमा आयोजना हुने कार्यक्रमहरुमा सहभागी हुन स्वीकति प्रदान गरेको छ ।

त्यस्तै बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव निर्मला अधिकारी भट्टराईलाई सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिव पदमा कायममुकायम तोक्ने निर्णय गरेको मन्त्री गुरुङले बताए ।