ओली र देउवाबीच छलफल

प्रधानमन्त्री केपीशर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । नेताहरुले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको पनि उनले जानकारी दिए ।
सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।
कांग्रेस सभापति देउवा थाइल्याण्ड भ्रमणमा रहेको बेला नेपालमा सरकार ढल्ने हल्ला चलेको थियो । प्रधानमन्त्री ओलीले केही दिन अघि एमालेको सभालाई सम्बोधन गर्दै २० औँ वर्षसम्म सरकारको नेतृत्व गर्ने कुरा संभव नहुने भन्दै २०८४ को निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएपछि सरकार ढल्ले संभावना रहेको धेरैको अनुमान थियो ।