म्यानमारबाट एक महिलासहित ५ नेपालीको उद्धार

तु खबर संवाददाता
२०८१ पुष ९,मंगलवार १६:१४

काठमाडौं । आकर्षक जागिरको प्रलोभन देखाएर म्यानमार पुर्याइएका पाँच जना नेपालीको उद्धार गरिएको छ । ती नेपालीलाई थाइल्याण्ड हुँदै नेपाल फर्काइएको हो ।

जसमा एक महिला र चार पुरुष रहेको नेपाली राजदूतावास, बैंककले जनाएको छ । राजदूतावास, बैंककका अनुसार, महिलालाई आज र चार पुरुषलाई १७ डिसेम्बरमा नेपाल फर्काइएको हो ।

दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच जना नेपाली नागरिकहरुमध्ये चार जना (पुरुष) थाइ सरकारी निकाय, आईओएम थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासमेतको सहयोगमा यही १७ डिसेम्बर २०२४ मा नेपाल फर्काइएको र आज २४ डिसेम्बर २०२४ मा १ जना महिलालाई नेपाल फर्काइएको छ ।’

सोमबार मात्रै परराष्ट्र मन्त्रालयले भ्रमपूर्ण विज्ञापन र आश्वासनमा नफस्न अनुरोध गर्दै ट्राभल एडभाइजरी जारी गरेको थियो । नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो पैसा कमाउने भनेर कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत देशमा रोजगारीमा नजान बैंककस्थित राजदूतावासले सबैलाई आग्रह गरेको छ ।