१११ किलो गाँजासहित हेटौंडाबाट भारतीय नागरिक पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३, तिनताप्केस्थित पुर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट प्रहरीले सोमबार अवैध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी लेवट बसामाडी मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा एक सय ११ किलोसहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा देश भारत जिल्ला मोतिहारी चैनपुर ढाका थाना बस्ने बर्ष ३० को महोमद समिर रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, सोमबार दिउँसो सवा १ बजेको समयमा मनहरीबाट वीरगंजतर्फ जाँदै गरेको बा १० च ५३३ नं. को योद्धा पिकअप गाडीलाई रोकी चेकजाँच गरिएको थियो । चेकजाँचको क्रममा गाडीको ढालामा बालुवा र मलले छोपि लुकई छिपाई गरी ल्याईएको सो परिणामको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।