अवैध लागूऔषधसहित १४ जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी, नेपालगंज, धनकुटा, झापा, तनहुँ र धनुषा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले सुनसरीको कोशी गाउँपालिका–१ भन्सार कार्यालय अगाडीबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ६ सय ५० मिलिग्रामसहित बिहीबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–२ तित्री गाछी बस्ने २९ वर्षीय रोहित कुमार मण्डल रहेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०१–००२ प ४१८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरिएको हो ।
यसैगरी, सुनसरीको कोशी गाउँपालिका–१ पुडी टोलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन ४ ग्राम २ सय ७० मिलिग्रामसहित बिहीबार दिउँसो दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका–१७ मझौरा बस्ने ३६ वर्षीय अग्रदिप चौधरी र ३० वर्षीय नरेश चौधरी रहेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको को.१३ प ९८३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरिएको हो ।
यस्तै, बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्राम ८ सय ५० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम २० ट्याब्लेटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बहराईच रूपैडिया बस्ने ३२ वर्षीय राजा सैयाद रहेका छन् । उनलाई बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले सो परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, धनकुटाको धनकुटा नगरपालिका–१ हिले सिरानस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १८ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ हिले बस्ने २५ वर्षीय फुर्वा तितुङ (तामाङ) र सोही नगरपालिका न्यूरोड टोल बस्ने २७ वर्षीय छितेन तामाङ रहेका छन् । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै प्रहरीले शंकास्पद २ जनालाई समेत आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
यसैगरी, झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका–५ बस्ने ३५ वर्षीय रूपेन्द्र भण्डारी र ३४ वर्षीय नारायण बहादुर बस्नेत रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिणाको लागूऔषधसहित पक्राउ गरेको हो ।
उता, तनहुँको आबुखैरेनी गाउँपालिका–४ बेनिटरबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र बुप्रेनोर्फिन ५० एम्पुल सहित अर्घाखाँची मालारानी गाउँपालिका–७ बस्ने २२ वर्षीय तिलक पाण्डेलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आबुखैरेनीतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले तिलकसँगै रहेका १ जनालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
यता, धनुषाको धनौजी गाउँपालिका–४ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट ७५ ट्याब्लेट र स्पास्मो ४० ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास नगरपालिका–१ बस्ने ३२ वर्षीय ईश्वर किरने र २० वर्षीय कविराज विश्वकर्मा रहेका छन् । प्रहरी चौकी धनौजीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
