११ करोडको सुनसहित हेटौंडाबाट दुई जना पक्राउ

तु खबर संवाददाता
२०८१ आश्विन १९, शनिबार १०:२४

मकवानपुर । मकवानपुर प्रहरीले आज बिहान ११ करोड रुपैयाँको अवैध सुनसहित हेटौंडाबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैया ६५० पैसाका अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा देश भारत महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने वर्ष २५ को अभिषेक अजिनाथ कुटी र देश भारत महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने वर्ष २७ को राहुल भिट्टिहाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर प्रहरीका अनुसार, बिहान ३ बजेको समयमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गरेको थियो ।

सो क्रममा स्कुटर चालक अभिषेक र स्कुटरमा सवार राहुलको साथबाट ८ वटा बिस्कुटको आकारको (तौल गर्दा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम) सुन बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई विशेष सूचनाको आधारमा खटिएको मकवानपुरका प्रहरी उपरीक्षक बिश्वराज खड्काको टोलीले पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।