अवैध लागूऔषधसहित ६ जना पक्राउ

तु खबर संवाददाता
२०८१ आश्विन १५,मंगलवार १६:११

काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले देशको विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके, कञ्चनपुर, झापा, मोरङ र कैलाली जिल्लाको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले बाँकेको नेपालगंज उपहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय ७० मिलिग्रामसहित सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ बस्ने २२ वर्षीय बिशाल थारू रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतको रूपैडियाबाट नेपालगंजतर्फ आउँदै गरेका उनको उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, कञ्चनपुरको भिमदत्त नगरपालिका–३ भासीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ८ सय २० मिलिग्रामसहित प्रहरीले सोमबार एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको लखिमपुर पलिया बस्ने २८ वर्षीय बलराम सिंह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, झापाको मेचिनगर नगरपालिका–६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्रामसहित सोमबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको उर्लावारी नगरपालिका–३ बस्ने २८ वर्षीय सनम धिमाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, झापा कै भद्रपुर नगरपालिका–५ मेची पुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम १ मिलिग्रामसहित सोमबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ देवी बस्ती बस्ने २१ वर्षीय राहुल ठाकुर रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

उता, मोरङको पथरीशनिश्चरे नगरपालिका–९ पुलचोकस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रमाडोल ५ सय क्याप्सुल र स्पासपेन ५ सय क्याप्सुलसहित सोमबार प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–९ बस्ने २२ वर्षीय नबिन राई रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, कैलालीको गोदावरी नगरपालिका–१ मनहरा टोलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन ५ सय ३० मिलिग्रामसहित प्रहरीले एक जनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १९ वर्षीय कमल रिजाल रहेका छन् । इलाका प्रहरी कार्यालय अत्तरिया मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।