अवैध लागूऔषधसहित ६ जना पक्राउ
काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके, बाजुरा, बर्दिया, पर्सा र रुपन्देही जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले बाँकेको कोहलपुर नगरपालिका–१३ भरैयाबाट अवैध लागूऔषध गाँजा २ किलो १ सय ५० ग्रामसहित आइतबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५४ वर्षीय अमर नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर र पसल तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यस्तै, बाजुराको बडीमालिका नगरपालिका–८ मार्तडी बस्ने ३४ वर्षीय शिवलाल रोकायालाई अवैध लागूऔषध चरेशसहित पक्राउ गरिएको छ । उनलाई लागूऔषध चरेश ४१ ग्राम ५ सय ५० मिलिग्रामसहित आइतबार दिउँसो पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिणामको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–६ रानीपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ३ सय मिलिग्रामसहित आइतबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका–४ बोरिङ बस्ती बस्ने २५ वर्षीय प्रकाश घर्ति मगर रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यता, पर्साको वीरगंज महानगरपालिका–१६ भानु चोकबाट अवैध लागूऔषध खैरो हेरोइन २३ ग्राम ३ सय मिलिग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी ग्राम पञ्चायत नकरदेही–१ बस्ने २० वर्षीय फुल महम्द देवान र २८ वर्षीय अली अख्तर रहेका छन् । प्रहरी चौकी बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको प्रहरीले बिआर ०५ एए ४४५० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिणामको खैरो हेराइनसहित पक्राउ गरेको हो ।
उता, रूपन्देही, शुद्धोधन गाउँपालिका–७ सिसवास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध ब्राउनसुगर ५० ग्रामसहित कपिलवस्तु नगरपालिका–१० जगदिशपुर बस्ने ३४ वर्षीय नागराज सिंहलाई आइतबार पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय छपिया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले लु.४० प ६५१९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
