अनेरास्ववियु क्रान्तिकारीको बन्द सत्र सुरु
काठमाडौं । भारी वर्षाका कारण रोकिएको अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्र आजदेखि सुरु भएको छ ।
निर्धारित समयभन्दा साढे ३ घण्टा ढिला गरी त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा सुरु भएको हो ।
१० वटा समूह बनाएर छलफल गरेकोमा अहिले मधेस प्रदेश समूहले रिपोर्ट पेश गरेको छ । उक्त समूहबाट उमेर हद राख्न आवश्यक नभएको सुझाव आएको जनाइएको छ ।
१० समूहमध्ये मधेसबाट रामपुकार यादव, बागमतीबाट मिलन लामा, कर्णालीबाट निराजन केसी, प्राविधिक धार तर्फबाट अनिस बलसाडी, विदेशी विश्वविद्यालयबाट राष्ट्रिय समिति शशाङ्क जैसी र सुदूरपश्चिम प्रदेशबाट तिलक माल नेता छानिएको छ ।
उपाध्यक्ष तथा केन्द्रीय कार्यालय प्रमुख केशव रावलका अनुसार, अन्य प्रदेशबाट नेता छानिन बाँकी रहेको छ ।
अविरल वर्षापछि आएको बाढीले काठमाडौं उपत्यका जलमग्न भएपछि निर्धारित कार्यक्रम स्थगित भएको थियो । सम्मेलन केहि दिन लम्बिने प्रमुख रावलले बताए ।
समूहगत छलफलबाट आएको निष्कर्ष समूह नेताले बन्द सत्रमा पेस गरेपछि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
सोमबार मात्र प्रतिवेदन र विधान परिमार्जनसहित पारित हुने उनको भनाई छ । त्यसपश्चात नेतृत्व छनोटका लागि निर्वाचनसम्बन्धी कार्यसूची अगाडि बढ्ने उनले बताए ।