अवैध लागूऔषधसहित चार जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, मौरङ र बाजुरा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–१५, कनरीबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय ९० मिलिग्रामसहित शनिबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २४ वर्षीय नबिन चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–१७ पथ्थरीयाबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय ३० मिलिग्रामसहित शनिबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २३ वर्षीय पप्पु राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन १४ ग्राम ८ सय ८० मिलिग्रामसहित शनिबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार अररिया नरपथगन्ज गोखलापुरथान–७ बस्ने २५ वर्षीय मिथलेश साह रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
त्यस्तै, बाजुराको बडिमालिका नगरपालिका–८ मार्तडी गौडा बस्ने ३७ वर्षीया मागी धामीलाई अवैध लागूऔषध चरेशसहित पक्राउ गरेको छ । प्रहरीले लागूऔषध चरेश ५८ ग्राम २ सय मिलिग्रामसहित शनिबार राति उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
