३७ घण्टापछि खुलेको कान्तिलोकपथ पुनः अवरुद्ध
मकवानपुर । अविरल वर्षसँगै आएको पहिरोका कारण बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी जोड्ने छोटो मार्ग कान्तिलोकपथ पुनः अवरुद्ध भएको छ ।
झण्डै ३७ घण्टापछि खुलेको उक्त सडकखण्ड पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरको बकैया गाउँपालिका ११ स्थित घट्टेपाखामा पहिरो जाँदा बिहीबार बिहानैबाट उक्त सडकखण्ड अवरुद्ध बनेको थियो । उक्त पहिरो पन्छाएर शुक्रबार दिउँसो २ः५ बजेपछि सुचारु गरिएको थियो । तर, आधा घण्टा मै उक्त सडकखण्ड अवरुद्ध बनेको हो ।
प्रहरीका अनुसार, मकवानपुरको बकैया गाउँपालिका वडा ११, स्थित आँपचौर र लाम्राङमा पहिरो जाँदा शुक्रबार दिउँसो करिब २ः३५ बजेदेखि सडक पुनः अवरुद्ध भएको हो ।
सडक विभाग तथा फास्ट ट्र्याक आयोजनासँग समन्वय गरी उक्त पहिरो पन्छाउने कार्य भइरहेको छ ।
इलाका प्रहरी कार्यालय ठिंगनबाट अन्दाजी ५ किलोमिटर पुर्व पर्ने उक्त स्थानमा गएको पहिलो पन्छाई बाटो खुल्नाउने कार्य सम्भवतः न्यून रहेको जनाइएको छ ।
उक्त सडकखण्ड हुँदै संचालन हुने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले सबैलाई आग्रह गरेको छ ।
यसैबीच सडक माथिबाट पहिरोले अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ मार्ग पहिरो पन्छाएर एकतफी सुचारु गरिएको छ ।
सिस्नेरी–दक्षिणकाली सडकखण्डमा पर्ने मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३ स्थित रामचन्द्रभञ्ज्याङमा पहिरो गएर शुक्रबार दिउँसो १ः१० बजेबाट उक्त मार्गमा अवातजावत अवरुद्ध बनेको थियो ।
यसअघि भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको ईन्द्रसरोवर गाउँपालिका २ स्थित सुकौरामा पहिरो आई शुक्रबार बिहान साढे ९ बजेबाट उक्त सडक अवरुद्ध बनेकोमा पहिरो पन्छाएर ११ः५८ बजेबाट सवारीसाधन संचालनमा ल्याएको प्रहरीले जनाएको छ ।
