अवैध लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेत र झापा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ ढोडेखालीबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ६ सय ७० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ बस्ने ३४ वर्षीय डम्बर भण्डारी र उनकै श्रीमती २३ वर्षीया अमृता कार्की रहेका छन् । प्रहरी चौकी बाङगेसिमल र लागूऔषध नियन्त्रण ब्यूरो शाखा सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टा पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम १ सय ८० मिलिग्रामसहित आइतबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–७ बस्ने २१ वर्षीय सबुत हायु रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
